भारतबाट १२० प्रकारका औषधि आउँदै

समाचार

4/18/2020

काठमाडौं, ६ बैशाख । नेपालले भारत र चीनका सरकारी निकायबाट १२० प्रकारका औषधि तथा स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको छ ।

नेपाली सेनामार्फत कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ आपतकालीन केन्द्रमा सरोकारवालाहरूले तयार गरेको ३९६ वटा सामग्रीको सूचीबाट सेनाले प्रारम्भिक चरणमा १२० प्रकारका औषधि ल्याउने भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल नेतृत्वको कोभिड–१९ आपतकालीन व्यवस्थापन केन्द्र (सिसिएमसी)मार्फत स्वास्थ्य सामग्रीहरूको सूची तयार भएको हो । चीन र भारतका सरकारी निकायले चाँडै सामान आपूर्तिका लागि सूचित गर्ने जानकारी दिएका छन् ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भारत र चीनका सामान आपूर्तिकर्ताहरूसँग पटक–पटक भएको छलफलपछि तत्कालै आवश्यक परेका सामग्री ल्याउने तय भएको जानकारी दिए ।

भारतबाट ५३ र चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र उपकरण आउने टुंगो लागेको छ । सेना र दुवै देशका आपूर्तिकर्ता सरकारी कम्पनीबीच मूल्य, सामानको गुणस्तरलगायतका सबै विषयमा सहमति भएको हो । चीनबाट आउने सामानमध्ये केहीको मूल्य बढी देखिएपछि चिनियाँ अधिकारीसँग सेनाले मंगलबार पुनः छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ