भारतमा दुई महिनापछि आन्तरिक उडान सुरु

समाचार

5/25/2020

काठमाडौं, १२ जेठ । भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान आजदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् ।

भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण प्रान्तहरुले नै आन्तरिक उडान खोल्ने निर्णय गरेका हुन् ।

यद्यपि विमानमा आवश्यक सतर्कता अपनाइने र प्रभावित क्षेत्रका मानिसहरुलाई परीक्षण गराएर मात्र पठाउने सहमति जुटेसँगै सबै राज्यको बीचमा आन्तरिक उडान खोल्ने सहमति जुटेको छ । यद्यपि आजका लागि तय गरिएको धेरै उडानहरु भने रद्द भएका छन् । राजधानी सहर दिल्ली र बेंगलुरुका करिब एक सय उडान रद्द भएका छन् ।

जसमध्ये ८२ ओटा दिल्लीको उडान रद्द गरिएको छ भने बेंगलुरुका २० उडान रद्द भएका छन् । मानिसहरुले टिकट काटेर विमानस्थल आउँदा विना कुनै सूचना विमानको उडान रद्द भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आन्तरिक उडान शुरु गर्ने विषयमा भारतको पश्चिम बंगालले भने अहिले आँधीको कारण प्रान्तको अवस्था राम्रो नभएको कारण उडान शुरु गर्न केही समय आवश्यक रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ