भारतीयले खुवाए अलपत्र नेपालीलाई भोजन

समाचार

3/31/2020

काठमाडौं, १८ चैत । रुपन्देहीको सीमा नौतनवाका भारतीयले अलपत्र परेका नेपालीलाई भोजन दिन थालेका छन् । भारतको दिल्लीसहित विभिन्न स्थानबाट नेपाल फर्किका नेपालीलाई उनीहरुले भोजनको व्यवस्था गरेका हुन ।

नेपाल र भारतमा जारी लकडाउनकाबीच नेपालीहरु घर फर्किन लाग्दा सीमामा अलपत्र परेका हुन । बालबच्चासहित घर पुग्ने आसमा भारतबाट सीमामा पुगेका नेपालीलाई भोकै देखेपछि स्थानीय भारतीयले भोजनको व्यवस्था गरेका हुन् ।

भोजन वितरणमा भारतीय सुरक्षाकर्मीले पनि सघाएका छन् । नौतनवाका सीओ राजुकुमार साव र महाराजगन्जका उप जिल्ला अधिकारी जसधीर सिंह पनि नेपालीलाई खाना वितरण, व्यवस्थापनमा खटिएका छन् ।

सीमामा नेपालीलाई अलपत्र र भोकै देखेपछि खाना खुवाउन थालेको भारतीय बजार सुनौली नगर पञ्चायतका सभासद गुफरान खानले बताए ।

‘नेपालीहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन,’ उनले भने, ‘समस्यामा परेर टाढाटाढाबाट राति आइपुगेका नेपालीहरुलाई बिहानसम्म भोकै बसेको देखेपछि हामीले खाना खुवाउन सुरु गरेका होँ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ