काठमाडौं, ६ चैत । नेपालका स्थानीय तहमा सोझै सहयोग दिने कार्यक्रम ‘साना विकास परियोजना’ भारतले पुनः सुरु गरेको छ । अर्थ मन्त्रालयको समन्वयमा संघीय मामिला मन्त्रालयमार्फत कार्यान्वयन हुने नयाँ व्यवस्थासहित भारतीय सहयोग पुनः सुरु भएको हो ।
दार्चुलाको महाकाली नगरपालिका र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा सामुदायिक विद्यालय भवन बनाउन नेपाल सरकार र भारतीय राजदूतावासबीच भएको समझदारीसँगै साना विकास परियोजना पुनः सुरु भएको हो ।
भारत सरकारको अनुदानमा स्थानीय निकाय तथा गैरसरकारी संस्थामार्फत ३ करोड रुपैयाँसम्मका साना विकास परियोजनाको कार्यान्वयन गर्न नेपाल र भारतबीच ७ नोभेम्बर २००३ मा सम्झौता भएको थियो । सन् २००९ मा परियोजनाको लागत ५ करोड रुपैयाँसम्म पुर्याइएको थियो । त्यसयता भारतले विभिन्न साना विकासका परियोजनामा सोझै सहयोग गर्दै आएको थियो । तर, २०७२ मा नयाँ संविधान आएपछि साना विकास परियोजनाका लागि नयाँ सम्झौता रोकिएको थियो ।
संविधान निर्माणपछि यो कार्यक्रम रोकिएको थियो । तर, सम्झौता भएर अघि बढिसकेका परियोजनाले भने निरन्तरता पाएको थियो । नयाँ व्यवस्थापछि नयाँ परियोजनामा सहयोगको सम्झौता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया