काठमाडौं, ३ चैत । सार्कका सदस्य राष्ट्रहरुले कोभिड–१९ विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई स्विकार गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले कोरोना भाइरस विरुद्धको लडाईमा सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको बताए । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आयोजित सार्कका नेताहरुको भिडियो कन्फरेन्समा अफगान राष्ट्रपति घानीले अन्य मुलुकबाट सहयोग भए पनि नभए पनि सार्क राष्ट्रहरु भने यसका लागि जुट्नुपर्ने बताएका हुन् ।
भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कताका साथ काम भइरहेको बताए ।
भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले भने, ‘कोरोनाको संक्रमण रोक्न भुटानीहरुलाई एकताबद्ध हुन हामीले निर्देशन दिएका छौं ।’ श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षेले कोरोना भाइरसको संक्रमण विरुद्ध सार्क राष्ट्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । उनले कोरोना विरुद्धको साझा धराणा बनाउन कदम चालेकोमा प्रधानमन्त्री मादीलाई धन्यवाद दिए ।
यसैगरी, बंगलादेशकी प्रधान्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा आवश्यक रहेको बताउँदै कोरोना भाइरसविरुद्धको लडाईंमा सहकार्य गर्न आह्वान गरिन् । दक्षिण एसियाली मुलुकहरुले सहायता गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले बंगलादेश यसका लागि तयार रहेको बताउँदै सार्कका नेताहरु एकठाउँमा भेला भएकोमा धन्यवाद दिइन् ।
यस्तै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोना भाइरसविरुद्ध कुनै पनि राष्ट्रले एक्लै लड्न नसक्ने बताएका छन् ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा राष्ट्रपति सोलिहले कोरोना भाइरसको रोकथामका लागि साझा प्रयास आवश्यक रहेको बताएका हुन् । उनले भारतले गरेको सहयोगप्रति विशेष धन्यवाद दिए ।
यस्तै, कोरोना भाइरस महामारी नियन्त्रणका लागि पाकिस्तानले सक्दो प्रयास गरिरहेको स्वास्थ्य मामिलाका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार जाफर मिर्जाले जनाएका छन् ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै उनले पाकिस्तानमा यसको रोकथामका लागि आवश्यक स्वास्थ्य सतर्कता अपनाएको समेत जनाए ।
तपाईको प्रतिक्रिया