भारतीय राजदूत पुरी दिल्ली फर्किदैं

समाचार

12/31/2019

काठमाडौं, १५ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल सकेर दिल्ली फर्किँदै छन् । उनले नेपालमा दुई वर्ष नौ महिना तीन दिन बिताएका छन् ।

नेपालबाट स्वदेश फर्केलगत्तै उनले ३७ वर्षे लामो कूटनीतिक सेवाबाट पनि अवकाश पाउँदै छन् । नेपालमा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रूपमा आएका थिए ।

रणजित रायपछि पुरी १२ चैत ०७३ देखि नेपालका लागि २४औँ राजदूत नियुक्त भएका थिए । पुरीपछि नेपालका लागि भारतीय राजदूत अझै तय भएको छैन ।

नवनियुक्त भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगला अमेरिकाबाट दिल्ली फर्केपछि नेपालमा पठाउने राजदूत तय हुनेछ । एउटै समयमा भारतीय विदेशसचिव नियुक्त भएका विजयकेशव गोखले पनि जनवरी २० मा सेवानिवृत्त हुँदै छन् ।

राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपाल पठाइएका पहिलो सिख राजदूत थिए । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् ।

नेपाल आउनुभन्दा तीन वर्षअघि पुरी ब्रसेल्समा भारतीय राजदूत थिए । त्यसभन्दा अघि उनले न्युयोर्कस्थित भारतीय स्थायी प्रतिनिधि कार्यालयमा उपप्रमुखका रूपमा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ