काठमाडौं, १६ असार । सत्तारुढ नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भारतले आफूलाई हटाउन खोजेको’ भन्ने अभिव्यक्तिबारे शीर्ष नेताहरुले गम्भीर चासो राखेका छन् । बैठकमा शीर्ष नेताहरुले नै ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चौथो दिनको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने प्रधानमन्त्रीको ओलीको अभिव्यक्तिप्रति प्रश्न गरेका हुन् ।
उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले ओलीले आधारहीन टिप्पणी गरेको बताए ।
बैठकमा बोल्दै शीर्ष नेताहरुले ‘सरकार ढलाउन दूतावास सक्रिय भएको हो या अरु कोही ?’ भन्ने प्रश्न समेत ओलीसमक्ष राखेका थिए । चार नेताले बोल्दा ओली बैठकमा सहभागी रहेका थिए । नेताहरुले प्रश्न उठाएपछि ओलीलाई बैठकलाई स्पष्ट जानकारी दिनुपर्ने दवाव बढेको छ ।
उनीहरुले बिनाआधारमा टिकाटिप्पणी गर्दा गलत सन्देश जान सक्ने भन्दै यसप्रति सचेक हुन जरुरी रहेको समेत धारणा राखेका थिए ।
बैठकको सुरुमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कसरी आयो, यो गम्भीर विषयमा को सक्रिय रहेको हो, नेताहरुलाई जानकारी दिनुपर्ने बताएका थिए । त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशय राखेको एक नेताले जानकारी दिए ।
उपाध्यक्ष गौतमले पनि प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस–कसले सक्रियता बढाएको हो, दूतावासका को–को सक्रिय भए बैठकमा बताउनुपर्ने बताए ।
नेता खनालले सरकार ढाल्न भारतीय सक्रिय रहेको भनाइ गम्भीर रहेकोले यसबारे प्रष्ट पार्न माग गरे ।
प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतले आफ्नो सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए ।
खासगरी कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई संविधानमा समेत समेटिएका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप उनले लगाएका थिए ।
तपाईको प्रतिक्रिया