भारतले टिकटक बन्द गरेकोमा अमेरिकाको स्वागत

समाचार

7/2/2020

काठमाडौं, १८ असार । लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलगायत विभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने भारतीय कदमको अमेरिकाले स्वागत गरेको छ ।

टिकटकलगायतका चिनिया एपहरु चिनियाँ कम्युनिष्ट पार्टीको जासुसीको अंग रहेको दाबी गर्दै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले त्यस्ता एपहरुमाथि प्रतिबन्ध लगाउनाले भारतको सम्प्रभुता, अखण्डता तथा राष्ट्रिय सुरक्षालाई बढावा मिल्ने बताएका छन् ।

पम्पेओले एक पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘हामीले कतिपय चिनियाँ मोबाइल एपहरुमाथि बन्देज लगाउने भारतीय कदमको स्वागत गर्दछौँ । यसले भारतको अखण्डता तथा राष्ट्रिय सुरक्षालाई बलियो बनाउनेछ ।’

भारतको सार्वभौमिकता, अखण्डता, प्रतिरक्षा, सुरक्षा तथा सार्वजनिक सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधिमा भूमिका खेलेको भन्दै भारतले सोमबार टिककट, विच्याट, विबो लगायतका विभिन्न ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको थियो ।

१२ करोड भारतीय प्रयोगकर्ता रहेको टिकटकमाथि भारतमै प्रतिबन्ध लागेपछि टिकटकलाई आम्दानी तथा सक्रिय प्रयोगकर्ताको संख्याका हिसाबले समेत गम्भीर प्रभाव पर्ने अनुमान गरिएको छ ।

भारतले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै अमेरिकामा पनि टिकटक प्रतिबन्धको माग उठेको छ । अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा विचार गर्न सरकारसँग अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ