भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्ने

समाचार

6/8/2020

काठमाडौं, २६ जेठ । भारतले नेपलाका विभिन्न जिल्लाहरुका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्ने भएको छ ।

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण हेतु भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनर्निर्माण गरिने दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

दूतावासका अनुसार भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनर्निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपश्चातको पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ