भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो : प्रधानमन्त्री

समाचार

6/28/2020

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खोजिरहेकोे आरोप लगाएका छन् । उनले देशभित्र र बाहिर ठूलो समूह आफूलाई हटाउने खेलमा लागेको पनि दाबी गरे ।

मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आइतबार आयोजना गरेको कार्यक्रममा भारतीय मिडिया र बौद्धिक बहसहरुबारे उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत लागेको आरोप लगाए ।

उनले भने, ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ उनले भारतको राज्य संयन्त्र नै आफ्नाविरुद्ध सक्रिय रहेको आरोप लगाए ।

देशको नयाँ नक्शा जारी गरेपछि भारत आफूलाई हटाउन सक्रिय भएको ओलीको भनाई छ । उनले विगतमा पनि चीनसँग व्यापार तथा पारवहन सन्धी गरेलगत्तै हटाइएको स्मरण गराउँदै अतिक्रमित भूमि फिर्ता गराउन लागिपरेपछि हटाउन खोजेको बताए ।

देशभित्र पनि आफूलाई हटाउन सक्रियहरु रहेको ओलीले बताए । उनले केही नेताहरु आफूलाई हटाउन सक्रिय भएको बताए । तर, उनले ती नेताहरुको नाम उल्लेख गरेनन् ।

‘चीनसँग सम्झौता गरेर फर्किएपछि सरकार ढलेको बेलामा बहुमत थिएन,’ ओलीले भने । तर, अहिले सरकार ढाल्ने सपना नदेख्न भने । उनले भने, ‘कसैले नसोचे पनि हुन्छ ।’ ओलीले नेपाली राष्ट्रियता मजबुत भएकाले राष्ट्रका लागि काम गर्दा बाह्य शक्तिले हटाउन नसक्ने समय बनिसकेको बताए ।

नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि कतिपयले ‘प्वाइन्ट अफ नो रिटर्न’ अर्थात पछाडि फर्किने ठाउँ नै नभएको भनेको ओलीलेसुनाए । उनले भने, ‘प्वाइन्ट अफ नो रिटर्न नै हो । त्यहाँ प्वाइन्ट अफ रिटर्न राख्नै कुरै थिएन । हामीलाई हाम्रो भूमि चाहियो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ