काठमाडौं, ९ असार । राजपा र समाजवादी पार्टीका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन् । मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् ।
२०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रावधान राखिएपनि अहिले सरकारले सहमति उल्लंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको राजपाका सांसद महेन्द्र राय यादवले बताए ।
‘भारतसँग विशेष सम्बन्ध छ । रोटी बेटीको सम्बन्ध छ । ७ वर्षको समय तोकिएको छ । यसमा सरकारले गम्भीरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ’, उनले भने, ‘भएन भने सडकदेखि सदनसम्म आन्दोलनमा जाऊ भन्न खोजेको हो? नेपाल भारतसँगको सहमति तोड्न चाहन्छ । मधेशसँगको सम्बन्ध तोड्न चाहन्छ । मधेशमा आन्दोलनको संकेत देखिएको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
समाजवादी नेपालका प्रदीप यादवले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताए । भारतीय चेलीहरूका कारण कुन चाहिँ दुर्घटना घटेर संसदीय समितिले यस्तो निर्णय ग¥यो भन्दै उनले प्रश्न गरे ।
सरकारले मधेशी जनतालाई टार्गेट गरेर मधेशको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महशुस गराएको उनले बताए । यो निर्णय मधेश विरोधी भएको उल्लेख गर्दै उनले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी पनि दिए ।
तपाईको प्रतिक्रिया