दाङ, ६ बैशाख । नेपाल–भारतसँग सिमाना जोडिएको दाङ खण्डमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि परिचालन गरिएको छ । दश स्थानमा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये ७ वटा नाकामा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको थियो । शुक्रबारदेखि थप तीन नाकामा सशस्त्र प्रहरी परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार भारतसँग सीमा जोडिएको प्रमुख नाकाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अब अनिश्चितकालका लागि बन्द भएको छ ।
जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ । कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाका गरी ७ वटा नाकामा सशस्त्र प्रहरीको क्याम्प खडा गरी परिचालन गरिएको छ ।
शुक्रबारदेखि डगमारा नाका, खबरी नाका र भैँसाही नाकामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया