रुपन्देही, ३१ बैशाख । रुपन्देहमा कोरोना संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका स्थानीय तहमा पूर्णरुपमा आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
आवागमन बन्द गरिने स्थानीय तहहरुमा सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् ।
हुलाकी राजमार्गदेखि दक्षिण तर्फका यी स्थानीय तहमा जेठ ५ गतेसम्म आवगमन बन्द गर्ने निर्णय भएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाही हुने जनाइएको छ ।
बैठकले भारतबाट स्वदेश फर्किन सीमा क्षेत्रमा आइपुगेका नेपालीहरुलाई राख्न रुपन्देहीका सबै पालिकाले एक हजार जना क्षमताको क्वारेन्टाइन बनाउने निर्णय पनि गरेको छ । रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमण भएको छ भने एक जना निको भएर घर फर्केका छन् ।
तपाईको प्रतिक्रिया