काठमाडौं, १८ पुस । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गरेका छन् ।
भारतीय उद्योग परिसंघले पश्चिम बङ्गालको सिलिगुडीमा आयोजना गरेको सातौं उत्तर बङ्गाल सम्मेलनको उद्घाटन सभामा महावाणिज्यदूत अर्यालले संसारकै दश उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य हेर्न नेपाल भ्रमणमा जान छिमेकी मुलुकका नागरिकलाई अनुरोध गरेका हुन् ।
पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा भएको सम्मेलनमा नेपाल, भूटान र बङ्गलादेशका उद्योग तथा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाका उच्च तहका प्रतिनिधि सहभागी थिए ।
महावाणिज्यदूत अर्यालले नेपाल, भारत, भूटान र बङ्गलादेशले पर्यटन र व्यापारमा सहकार्य गरेर साझा उपलब्धि र आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरे ।
पश्चिम बङ्गालका पर्यटनमन्त्री देवले नेपाल र भारत एउटै हिमशृङ्खला र संस्कृति भएका मुलुक भएको हुँदा पर्यटनका साझा लक्ष्य पहिल्याउँदै आर्थिक विकासलाई तीव्र बनाउन आवश्यक भएको बताए ।
तपाईको प्रतिक्रिया