काठमाडौं, ११ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन ।
मन्त्री ज्ञवालीले राष्ट्रिय समाचार समिति (रासस) सहितका सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाल र भारतबीच सम्बन्धका अनेकौँ आयाम रहेको, यी दुवै मुलुक चिरकालदेखि सुःखदुःखको साथी रहेको र घनिष्ठ सम्बन्ध रहिआएकाले कुनै एउटा खास विषयले मात्र सम्बन्धको आयामलाई फरक पार्न नहुने विचार व्यक्त गरे ।
मन्त्री ज्ञवालीले इतिहासले छाडेको नासो र नसुल्झिएको सीमा विवाद समाधान गर्न दुवै देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा यसअघि नै परराष्ट्र सचिवस्तरको संयुक्त आयोगको बैठक बस्न सकेको भए यो समस्या यस रूपमा नआउने पनि स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले नेपालले सुगौली सन्धि र पूरक सन्धिमा उल्लेख भएअनुसार ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नयाँ नक्शा जारी गरेपछि भारतसँग वार्ताका लागि विभिन्न निकायमा छरिएर रहेका महत्वपूर्ण प्रमाण एवं कागजात संकलन गरी क्रमबद्ध रूपमा मिलाएर राख्न प्रमाण संकलन समिति गठन गरिएको जनाउँदै समितिभन्दा बाहिर रहेका विज्ञसँग पनि सुझाव र परामर्श लिइने स्पष्ट गरे ।
तपाईको प्रतिक्रिया