भारत सरकारद्वारा तीन अर्ब १० करोड प्रदान

समाचार

11/13/2019

काठमाडौं, २७ कार्तिक । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत ने.रु. ३ अर्ब १० करोड नेपाल सरकारलाई प्रदान गरेको छ ।

नुवाकोट तथा गोर्खा जिल्लाका ५०,००० निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्था मार्फत ५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।

यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो ।

भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरिकी डलर) प्रदान गरिसकेको छ ।

घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ रहेको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ