भैरहवा, ७ बैशाख । भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामग्री आयात दोब्बर भएको छ । अतिआवश्यक सामग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ ।
गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्यास बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । त्यस्तै, एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक आयात भए पनि डिजेल पेट्रोलको आयातमा भारी गिरावट आएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भटराईले बताए ।
भन्सार कार्यालयले अतिआवश्यक प्रकृतिका गाडी छिटोभन्दा छिटो भन्सार पास गरी गन्तव्यतिर पठाउँदै आएको छ ।
लकडाउन अवधिमा अन्य गाडीमा कोइला, एमएस बिलेट, बिटुमिन, टाल मार्बललगायत सामान आएका छन् । प्रक्रिया नपुगेका र औद्योगिक प्रतिष्ठान नखुल्दा एक सय ७१ गाडी भन्सार पास नभई यार्डमा रहेको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया