जनकपुरधाम, २७ फागुन । धनुषाको मिथिला नगरपालिका ७ पोखरियाको चुरिया पहाडमा पर्यटकीय ताल निर्माण गरिएको छ । तालको नाम मिथिला सागर राखिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत ढल्केवर चोकबाट तीन किलोमिटर उत्तर लागेपछि पोखरीया भन्ने स्थानमा ताल बनाइएको हो ।
चारैतिर सालको घना जंगल र उत्तरतिर रमणीय चुरिया पहाडको काँखमा मिथिला सागर अवस्थित छ ।
मेचिदेखि महाकाली, तराईदेखि पहाडसम्मका पर्यटक यहाँ घुम्न आउँछन् । भ्रमण वर्ष २०२० मा ताल भ्रमणको केन्द्र बनेको छ । केमलीपुर र पोखरीया दमार सामुदायिक वनको सीमानामा सात बिघा क्षेत्रफलमा ताल फैलिएको छ । सागरको बीच भागमा उत्तरेश्वर महादेव मन्दिरले तालको महत्व थप बढाएको छ ।
मिथिलाको पावन नगरी जनकपुरधामभन्दा २८ किलोमिटर उत्तरमा पर्छ मिथिला सागर । मिथिला नगरपालिकाले चुरिया संरक्षण गरेर तराईको उर्वरभूमि मरभूमीकरण हुनबाट बचाउन योजनाबद्ध काम थालेको छ ।
‘चुरेमा पर्यटकीय स्थल चुरिया पनि जोगिने, दिर्घकालीन आम्दानीको स्रोत पनि हुने र पर्यटक घुमाउन सकिने भएपछि पोखरी संरक्षण गरेर तालको रुप दियौं’, मेयर हरिनारायण महतोले भने ।
भौतिक पूर्वधारमा ११ करोड बजेट खर्चिएको अनुमान रहेको उनले बताए। ‘प्रदेश २ कै नमुना पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्य छ’, उनले भने ।
मिथिला सागरको विकासका लागि सहरी विकास मन्त्रलायको तर्फबाट चार करोड बजेट स्वीकृत भएको छ । भौतिक पूर्वधार निर्माणका लागि टेन्डर पनि भइसकेको छ ।
तपाईको प्रतिक्रिया