नयाँ दिल्ली (भारत), ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुग्दैछन् । लाखौँ जनताले आफूलाई स्वागत गर्ने ट्रम्पको अपेक्षा छ ।
पछिल्लो समय व्यापारका विषयमा दुई मुलुकबीच उत्पन्न मतभेदलाई यो भ्रमणले हल गर्ने अपेक्षा गरिएको छ ।
सोमबार पत्नी मेलानिया, छोरी इभान्का र ज्वाइँ जेरड कुस्नर पनि उनको साथमा हुनेछन्। यद्यपि भ्रमणको क्रममा ठूलो व्यापारिक सम्झौता नहुने बताइएको छ ।
‘हामी भारत जाँदैछौँ । त्यहाँ हामी विशाल सम्झौता गर्नेछौँ। हुन सक्छ हामी अलि गति कम गरेर चुनावपछि सम्झौता गर्नेछौँ,’ ट्रम्पले भनेका छन् । सम्झौताभन्दा ट्रम्पको ध्यान आफ्नो स्वागतमा निस्किने मानिसको संख्यामा देखिन्छ ।
मोदीको गृहराज्य गुजरातको अहमदावादमा ट्रम्पलाई स्वागत गर्न भव्य तयारी गरिएको छ। उनको स्वागतमा सडकमा –याली हुनेछ भने एक लाख क्षमताको क्रिकेट रंगशालामा मोदी र ट्रम्पले सम्बोधन गर्ने छन् ।
भ्रमणकै क्रममा भारतले अमेरिकी कम्पनी लकहिड मार्टिनसँग २.६ अर्ब डलरको २४ वटा सिहक हेलिकोप्टर किन्ने र ६ वटा अपाचे हेलिकोप्टरको अर्डर दिने बताइएको छ ।
गएको १५ वर्षमा भारतले अमेरिकासँग १८ अर्ब डलरको हतियार किनिसकेको छ । ट्रम्पको भ्रमणलाई मोदी सरकारले रणनीतिक महत्व दिएको छ ।
तपाईको प्रतिक्रिया