मदरसाहरुलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सरकारलाई सुझाव

समाचार

4/14/2020

काठमाडौं, २ बैशाख । कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको देखिएको अवस्थामा मदरसाहरुलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मुस्लिम आयोगले सरकारलाई सुझाव दिएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मंगलबार एक विज्ञप्ति जारी गरी मदरसाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।

‘नेपाल सरकारले प्रत्येक जिल्लामा थप क्वारेण्टाइनहरुको व्यवस्था गर्नुपर्दछ । सरकारले यस्ता थप क्वारेण्टाइनहरुको व्यवस्था गर्दा यस कार्यमा मुस्लिम आयोगले सहयोग गर्न तयार रहेको छ ।’ अध्यक्ष अन्सारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, देशभरि नै पर्याप्त संख्यामा होस्टेल समेतका मद्रसाहरु उपलब्ध छन् । ती मदसाहरुमा भान्सा घर, शौचालय, स्नान कक्ष, बिजुली, खानेपानी आदिको व्यवस्था रहने गर्दछ । त्यसरी नै पर्याप्त आकारका मैदानहरु पनि ती मद्रसाहरुमा उपलब्ध छन् । यी मद्रसाहरुमा क्वारेण्टाइन व्यवस्थापन गर्न सकेमा निकै सहज हुने भएकोले मुस्लिम आयोग नेपाल सरकारलाई यस्ता मद्रसाहरुका भवन उपलब्ध गराउन पहल गर्नेछ ।’

राज्य विपदमा परेको बेला क्वारेन्टाइन प्रयोजनको लागि आफ्ना मदरसा भवन उपलब्ध गराएर सहयोग गर्न चाहने मदरसा व्यवस्थापन समितिहरुले मुस्लिम आयोगमा यथाशीघ्र सम्पर्क अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।

यो विपदको घडिमा सबैलाई आआफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘लकडाउन पुर्ण रुपमा सफल पारेर आफू पनि बाँचौं, अरुलाई पनि बचाऔं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ