मधेशमा चिसो बढ्यो, जनकपुरधामको विभिन्न ठाउँमा कम्बल वितरण

समाचार

12/17/2019

जनकपुरधाम, २ पुस । दुई दिनयता मधेशमा ह्वात्तै चिसो बढेको छ । हरेक वर्ष चिसोबाट मधेशमा विपन्न वर्ग समुदायका वृद्धवृद्धा तथा बच्चाहरु प्रभावित हुने गरेका छन् । कैयौंको ज्यानसमेत जाने गरेको तथ्यांक छ ।

चिसो बढेसँगै प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र राजपा नेपालका महासचिव राजीव झाले जनकपुरधामका विभिन्न ठाउँ मठ, मन्दिर, धर्मशालाको बाहिर, सडक पेटिमा सुतिरहेका व्यक्तिहरुलाई चिसोबाट बच्न स्थलमै पुगी कम्वल ओढाएका छन् ।

क्लोथ बैंक धनुषाको अध्यक्षसमेत रहेका महासचिव झाको सहयोग र सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल, राजपा नेपालका मनोज चौधरी, जिल्ला अध्यक्षमण्डल सदस्य संजय सिंह, युवा नेता सुमित साह, सहायक प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी निरीक्षक प्रकाश भट्टलगायतले न्यानो कपडा वितरण गरेका छन् ।

यसैगरी, जनकपुर युथ क्लबका पूर्वअध्यक्ष मनिष झा श्रीओम, धनुषा जिल्ला उपाध्यक्ष मनिष चौधरी, दिबाकर झा, पत्रकार बटुकनाथ झा, अभियानी मनोज साह, व्यवसायी शंकर झा सहितको विशेष उपस्थितिमा धनुषा जिल्लामा जाडो बढेसंँगै सामाजिक विकासमन्त्री र महासचिव राजीव झाको विशेष प्रयासमा मंगलबारराती ९ः३० देखि ११ बजेसम्म मुरली चौक राम मन्दिर वरपर, गंगा सागर, जानकी मन्दिर, जिरोमाइल, बस स्टेण्ड, बेला कुट्टी वरपर सडक पेटीसहित जत्र तत्र बिना न्यानो कपडा ओढी सुतेको ब्यक्तिहरुलाई ३७ थान कम्बल वितरण गरेका थिए ।

क्लोथ बैंकका अध्यक्ष झाको यो प्रयास सराहनीय छ तर, जनकपुरधाम मात्रै नभई मधेश ग्रामीण भेगमा पनि यस्ता अभियान चलाउनुपर्ने आवश्यकता रहेको छ । न्यानो कपडाको अभावमा ग्रामीण भेगका जनता बढी प्रभावित हुने गरेका छन् ।

अध्यक्ष झाले आफूले विभिन्न दाताहरुसँग न्यानो कपडाका लागि आग्रह गरेको र आफूले सकेसम्म यो अभियानलाई ग्रामीण भेगसम्म लिएर जाने मधेशवाणीलाई बताएका छन् ।

न्यानो कपडाको अभावमा चिसोबाट बच्न घुर बालेर सुत्ने र कहिलेकाँही घुरबाटै आगो सल्किँदा कतिपयको ज्यान जाने गरेको खबरहरुलाई नजरअन्दाज गर्न मिल्दैन । तसर्थ, क्लोथ बैंकले यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ