मन्त्री नेम्बाङद्धारा निर्माणाधिन मन्त्री निवास अनुगमन

समाचार

6/21/2020

काठमाडौं, ७ असार । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरिक्षण गरेका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत सैबु भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।

स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए ।

लकडाउनका कारण तीन महिना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाउनु पर्नेमा जोड दिए । उनले भने ‘अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रुपमा अगाडी बढाउनु पर्छ । आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कामलाई सामान्य रुपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस ।’

उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए । समस्या आए आफुले समन्वय गर्ने समेत उल्लेख गरे ।

संघीय मन्त्री निवासको गत साल असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैसैंपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु समेत रहनेछन् ।

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साडे दुई तलाको बन्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ