वीरगन्ज, ३० जेठ । पीसीआर खरिदका लागि वीरगन्ज महानगरपालिकालाई एकैदिन ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघले ११ लाख ११ हजार १ सय ११ र वीरगन्जका विभिन्न व्यवसायीहरुले ५९ लाख गरी ७० लाख रुपैयाँ सहयोग गरेका हुन् । संघका अध्यक्ष गोपाल केडियाले सहयोग बराबरको चेक वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई हस्तान्तरण गरेका थिए । बाराको सिमरामा रहेको सूर्य नेपाल प्रालिले १५ लाख रुपैयाँ पीसीआर खरिदका लागि सहयोग गरेको थियो ।
पर्सा जिल्लालाई कोरोना संक्रमणमुक्त बनाई ग्रीन जोनमा परिणत गर्नका लागि बढीभन्दा बढी थ्रोट स्वाब परीक्षण आवश्यक पर्ने भएकाले वीरगन्ज महानगरले पीसीआर किट खरिदका लागि आह्वान गरेको थियो । कोषमा अहिलेसम्म एक करोड ४७ लाख ८१ हजार रुपैयाँ जम्मा भइसकेको महानगरपालिकाले जनाएको छ ।
संघले आफ्नो कोषबाट वीरगन्जवासीको कोरोना जाँच तीव्र गतिमा होस् भन्ने उद्देश्यले संस्थागत रुपमा महानगरपालिकालाई सहयोग गरिएको अध्यक्ष गोपाल केडियाले बताए ।
वीरगन्ज महानगरपालिका र वीरगन्ज उद्योग वाणिज्य संघबीच पीसीआर मेसिन खरिदका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदानसम्बन्धी सम्झौता भएको छ । केडियाका अनुसार यो सहयोग रकमले पीसीआर मेसिन खरिद, जडान र सञ्चालनबाहेक कार्यमा खर्च गर्न पाइने छैन । अटोमेटिक आरटी पीसीआर मेसिन सम्पूर्ण सेटसहित खरिद गरी नारायणी अस्पतालमा जडान गरिने छ ।
तपाईको प्रतिक्रिया