महोत्तरी, २१ बैशाख । जिल्लामा अज्ञात रोगबाट ११ जनाको मृत्यु भएको छ । भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा गत मंगलबारदेखि शनिबारसम्म ११ जनाको रहस्यमयी मृत्यु भएको छ ।
बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।
शनिबार बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा(६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शव परीक्षण जाँचले निर्क्यौल गर्ने जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदीपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यो बस्तीमा पुगेको छ ।
टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया