नयाँ दिल्ली, १८ फागुन । गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् ।
उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले पक्राउ गरेको हो । पाकिस्तानमा रहेर कश्मीर र भारतका अन्य क्षेत्रमा बारम्बार आतंककारी आक्रमण गर्दै आएको जैश ए मोहम्मद समूहमा आबद्ध उनले आत्मघाती आक्रमणकारी अदिल अहमद दारलाई आवास र अरु सहयोग गरेका थिए । पुलावामाकै काकपोरामा बसोबास गर्ने उनले फर्निचर पसल चलाउँदै आएको भारतीय अधिकारीले जनाएका छन् ।
उनलाई पाकिस्तानी आतंककारी मोहम्मद उमर फारुखले पुलवामा आक्रमणका आत्मघाती आक्रमणकारी अदिल अहमद दारसँग सन् २०१८ मा परिचय गराएका थिए ।
प्रारम्भिक बयानका क्रममा उनले पुलावामा आक्रमणसहित विभिन्न समयमा जैश ए मोहम्मदका आतंककारीहरुलाई हतियार, गोलिगठ्ठा, विष्फोटक पदार्थ र पैसा संकलन गरी बुझाउने गरेको खुलासा गरेका छन् ।
त्यस्तै, बयानकै क्रममा उनले अदिल अहमद दार र मोहम्मद उमर फारुखलाई सन् २०१८ देखि आक्रमणको मितिसम्म आवास प्रदान गरेको र विष्फोटक पदार्थ बनाउन सहयोग गरेको पनि खुलासा गरेका छन् ।
तपाईको प्रतिक्रिया