प्रदेश नं २ मा २४१० स्वाबको नमूना सङ्कलन

समाचार

5/5/2020

जनकपुरधाम, २३ वैशाख । प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तर रूपमा भइरहेको छ ।

यस प्रदेशमा मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।

यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए ।

यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन । यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो । प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ