जनकपुरधाम, २१ फागुन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले युवाहरुलाई शिपसहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई शिपसहितको रोजगारीमा लगाउनु पर्ने बताए ।
मानव संशाधन सबैभन्दा ठूलो शक्ति भएपनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकै कारण मलुकु गरिब भएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिन सकिए समृद्धि सम्भव रहेको विश्वास समेत व्यक्त गरे ।
युवाहरुलाई शिपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएको बताउँदै मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको बताए ।
स्वारोजगारको नाउमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गर्दै उनले स्वरोजगारका लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न कोषलाई सुझाव समेत दिए ।
युवाहरुलाई रोजगारी दिन प्रदेश सरकारले सिप परियोजनासँग सम्झौता गरी कार्यक्रम चलाइरहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गरे ।
कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्र बैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया