गौर, २ चैत । गरुडा नगरपालिका वडा नम्बर ६, दुधियाभार चौक छेउमा रहेको दाईभाई इट्टा उद्योगमा एक समूहले आक्रमण गरी लाखौंको क्षति गरेका छन् ।
वडा नम्बर ६ का वडाध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका व्यक्तिहरुले बिहान ९ बजे सो इटा उद्योगमा आक्रमण गरेका हुन् ।
बाँस, लाठी, घरेलु हातहतियारसहित गएका मानिसहरुले इटा उद्योगका संचालक रामबाबु चौधरीको भाई मुकेश कुमार चौधरीसहित ८ जनामाथि सांघातिक हमला गरेका छन् ।
कुटपिटबाट मुकेशलाई गम्भीर चोटपटकपटक लागेको र अन्यलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।
कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको छ । सामान्य घाइते अन्यको उपचार गरुडामा भइरहेको डिएसपी महतोले बताए ।
आक्रमणकारीहरुले इटा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेक्टर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।
दाई–भाई इटा उद्योगमा २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए ।
घटनामा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । यसअघि आइतबार साँझ गरुडा नगरपालिका पोटियाहीमा वडा अध्यक्ष अशोक यादवको समूह र वडाका प्रत्यासी रामबाबु चौधरीको समूहबीच भनाभन हुदा ढुङ्गामुढा समेत भएको थियो ।
प्रहरीको सक्रियताले गएराती कुनै घटना हुन नसकेको भएपनि आज बिहान वडा अध्यक्ष अशोक यादव सहितको समूहले आक्रमण गरेका थिए ।
पिडित रामबाबु चौधरीले अशोक यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफूले अख्तियारमा मुद्दा गरेको कारण सोही रिइस्वीमा यो घटना घटाएको र आक्रमणबाट ७० लाखभन्दा बढीको क्षति भएको दाबी गरेका छन् ।
अहिले घटनास्थल वडा अध्यक्षको गाउँ अमरपट्टी र पोटीयाही गाउँमा घटना नदोहरियोस् भने उद्देशयले ठूलो संख्यामा नेपाल प्रहरी र शस्त्र प्रहरीको उपस्थिति रहेको छ ।
यस सन्दर्भमा वडा अध्यक्ष आशोक यादवसंग कुरा गर्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
तपाईको प्रतिक्रिया