रौतहट, ९ चैत । जिल्ला सुरक्षा समिति रौतहटको शनिबार बसेको बैठकबाट नेपाल–भारतको मुख्य नाका बाहेकका अन्य खुला नाकाहरुमा अतिआवश्यक कार्य र प्रयोजन बाहेक आवत जावतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
कोभिड १९ को संक्रमणको रोकथामका लागि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिदै गइरहेकोले नेपालमा त्यसको प्रभाव पर्न नदिनका लागि गौर भन्सारको नाका बाहेक अन्य नाकाहरुबाट सीमापार जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
हेल्प डेस्क स्थापना गरिएको नाका बाहेक अन्य ८ बटा नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको अनिवार्य रुपमा तापक्रम लिइने र संक्रमणको शंका भएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने समितिले निर्देशन समेत दिएको छ ।
बैठकबाट गौर नगरपालिका वडा नम्बर ५ मा रहेको गौर नर्सिंग क्याम्पसलाई तत्कालका लागि कोभिड़ १९ को शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नका लागि क्वारेंटाइन स्थलको रुपमा व्यवस्थापन गर्ने र यसका लागि प्राविधिक पक्ष जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएका छन् ।
अवैध रुपमा सञ्चालन रहेका घरेलु मदिरा उत्पादन र विक्री वितरण नियन्त्रण गर्न नेपाल प्रहरीले जिल्लाव्यापी रुपमा अभियान चलाउने, रौतहटबाट चल्ने लामो दूरीका यातायातका साधनहरु चैत्र ९ गतेदेखि बन्द गर्ने र प्रचार प्रसारको साथै सर्वसाधारण र यातायात व्यवसायीहरु नेपाल प्रहरी र ट्राफिक प्रहरीले जानकारी गराउने निर्णय भएको छ ।
संक्रमण रोकथाम तथा नियंत्रण का लागि जिल्ला सुरक्षा समिति रौतहट, गौर नगरपालिकाका मेयर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साह र गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण साह सहित सदस्य रहने गरी जिल्ला कमाण्ड पोस्ट स्थापना गर्ने निर्णय गरिएको छ ।
जिल्लामा लाग्ने साप्ताहिक प्राकृतिकका हाट बाजार बंद गराउने यसको लागि स्थानीय पालिका सित सहयोग गर्ने निर्णय भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । बैठकले ७ सदस्यीय द्रुत प्रतिक्रिया टोली गठन समेत गरेको छ ।
कमाण्डपोस्ट स्थापनाका लागि सुझाव सहितको प्रतिबेदन पेश गर्नको लागि गठित समितिको संयोजकमा गौर नगरपालिकाका स्वास्थ्य संयोजक दीनबंधु यादव, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, जिल्ला अस्पतालका डाक्टर गोपालकुमार गुप्ता, नेपाली सेनाका क्याप्टेन ललित चन्द, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन सिंह, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी निरीक्षक गोपीराम श्रेष्ठ राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुशंधान अधिकृत मायाशंकर सिंह रहेका छन् ।
तपाईको प्रतिक्रिया