रौतहट, २२ साउन । रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि स्थानीय प्रशासनले साउन २४ गते शनिबारदेखि ३२ गतेसम्म सात दिने निषेधाज्ञा आदेश जिल्लाभरि जारी गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बुधबार सम्पन्न भएको जिल्ला सुरक्षा समितिको बैठकबाट कोरोना भाइरसबाट जिल्लाको विभिन्न नगरपालिकाको समुदायमा देखा पर्न थालेको, बजार क्षेत्रमा भिडभाड बढ्न थालेको हुँदा कोरोनाको संक्रमण उच्च रहदा निषेधाज्ञा बाहेकको अर्को कुनै विकल्प नरहेकोले आउदो साउन २४ गतेदेखि ३२ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
समुदायमा कोभिड १९ को संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा रोग संक्रमण ऐन २०२० को दफा २ वमोजिम साउन २४ गतेदेखि ३२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरएको छ ।
अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निष्कन पूर्ण रुपमा निषेध, स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, ग्यास ढुवानी, औषधि, खाद्यान्न सामग्री, तरकारीको आपुर्ती बाहेक अन्य सेवाहरु निषेध गरिएको छ ।
तपाईको प्रतिक्रिया