काठमाडौं, ४ जेठ । रौतहट जिल्लामा १० जना कोरोनाको नयाँ विरामी फेला परेका छन् । योसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको विज्ञप्तिअनुसार रौतहटको राजपुर न.पा. फरहदवा–९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना र रौतहटकै इशनाथ न.पा.–३ निवासी २८, ३० र ३३ वर्षका ३ जनामा संक्रमण पुष्टि भएको हो । यी सबै संक्रमित भारतबाट आएका नेपाली मजदुरहरू छन् ।
शुक्रबार उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । उनीहरू सम्बन्धित पालिकाको क्वारेन्टाइनमै रहेको रौतहटका प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए । यससँगै रौतहटमा संक्रमितको संख्या १३ पुगेको छ ।
यसअघि इशनाथ, गुजरा र वृन्दावन नगरपालिकामा एक–एक जना संक्रमित भेटिएका थिए ।
तपाईको प्रतिक्रिया