काठमाडौं, २७ जेठ । राजसंस्था पुनः स्थापना गर्नुपर्ने उद्देश्यका साथ गठन भएको राष्ट्रिय जनतान्त्रिक गठबन्धनमा नेपाली नागरिक अभियान र मधेशी जनता पार्टी समाहित भएका छन् ।
कमला भट्टराईको नेतृत्वमा रहेको “नेपाली नागरिक अभियान” र सुनिल प्रसाद गुप्ताको नेतृत्वमा रहेको “मधेशी जनता पार्टी” गठबन्धनमा सम्पूर्ण रुपमा समाहित भई राष्ट्र बचाउ अभियानद्वारा घोषित आन्दोलनको कार्यक्रममा सक्रिय सहभागिता जनाउने जनाएका छन् ।
गठबन्धनका संयोजक डा. मनोज मुक्ति ‘विवेक’ले समाहित भएकाहरुलाई स्वागत गरेका छन् ।
राष्ट्रिय जनतान्त्रिक गठबन्धनमा हालसम्म समाहित भएका ६ संगठनहरु डा. मनोज मुक्ति “विवेक“ नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको नेपाल डेमोक्रेटिक पार्टी, लाक्पा तामाङ नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), राजिव झा नेतृत्वको “मातृभूमि सेवा दल“, कमला भट्टराई नेतृत्वको नेपाली नागरिक अभियान र सुनिल प्रसाद गुप्ता नेतृत्वको मधेशी जनता पार्टी रहेका छन् ।
‘देशमा व्याप्त सबै प्रकारका भ्रष्टाचार, राज्य प्रायोजित एवं संरक्षित आतंक, लूटखसोट, भयत्रास, बेतिथी, अब्यवस्था, आत्मसमर्पणवादी लम्पसारवादमा आधारित प्रभुभक्तिसहितको देशबेचुवा सोंच, चरित्र, आचरण, प्रवृत्तिका विरुद्ध संयुक्त स(सक्त मोर्चा निर्माण र “राष्ट्र बचाउ अभियान“ को पवित्र अन्तिम लक्ष्य “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन ब्यवस्था“ स्थापनाका निम्ति सम्पूर्ण राष्ट्रभक्त, राष्ट्रवादी, जनतन्त्रवादी शक्तिहरुलाई गोलबन्द गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय पहिचान, राष्ट्रिय एकता एवं धर्म, संस्कृति, इतिहास, परम्पराको प्रवर्द्धन, संवर्द्धन, संरक्षणका निम्तिको संयुक्त संघर्षमा क्रियाशिल “राष्ट्रिय जनतान्त्रिक गठबन्धन“ र गठबन्धनद्वारा “राष्ट्र बचाउ अभियान’ सञ्चालन गरिएको छ ।
तपाईको प्रतिक्रिया