लकडाउनको असर : जंगलमा मंगल

समाचार

4/28/2020

महोत्तरी, १७ बैशाख । कोरोना भाइरसबाट जोगिन सरकारबाट जारी लकडाउनको फाइदा उठाउँदै तस्कर, अवैध कारोबारी तथा शिकारीहरुको वन जंगलमा रजाँई गर्न थालेपछि त्यहाँको जनावर अहिले दक्षिणवर्ती गाउँदेहातमा आतंक मचाउन थालेका छन् ।

लकडाउनको बेला शहरी बासिन्दालाई घरभित्र सीमित राख्न अत्याधिक सुरक्षाकर्मीहरु परिचालन गरिएपछि वनजंगल क्षेत्रको सुरक्षामा असर परेको छ । त्यस क्षेत्रमा थोरै सुरक्षाकर्मी रहेका कारण अबैध कारोबारीसँगै सिकारीले आफ्ना गतिविधि तिव्र पारेका छन् ।

गाउँदेहातमा निलगाइ र बँदेलको आतंकका कारण सर्वसाधारण भयभित छन् । त्यही जंगली जनावरको आक्रमाणबाट सर्वसाधारण घाइते हुने गरेका छन् भने गाउँदेहातमा लगाइएको अन्नवाली नष्ट गर्ने गरिएका छन् ।

बँदेलको आक्रमाणबाट मनरामा एकदर्जन भन्दा बढी सर्वसाधारण घाइते भएँ । त्यसमध्ये एक घाइते युवकको घाँउमा २२ वटा टाँका लगाइएको छ । यस्तै जलेश्वर नगरपालिका ६ सुरियाहीमा समेत तीन जना घाइते छन् । महोत्तरीको दक्षिणवर्ती अन्य गाउँका सर्वसाधारण समेत बँदेलको आक्रमाणबाट घाइते हुने गरेको जलेश्वरका बिनोद पासीले बताए ।

चैत ११ देखि शुरु भएको लकडाउनको मौका छोपेर बर्दिवास, गौशाला, भंगहासहितको नगरपालिकामा रहेका वनजंगल क्षेत्रमा तस्करको रजाँई शुरु भएको स्थानीयहरुले बताए । वनजंगल फडानी, वन्यजन्तु शिकार मात्र नभई नदीको अवैध दोहन पनि शुरु भएको सुइको पाएपछि वन कार्यालयले विगत केही दिनदेखि वनजंगल क्षेत्रमा निगरानी बढाएको हो ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले वैशाखको दोस्रो हप्तामा जंगलको काठ अबैध फडानी गर्दै गरिरहेको अवस्थामा बर्दिवास नगरपालिका ५ माइस्थान चेरुका ४५ बर्षीय झोकीलाल लामालाई पक्राउ गरि कारवाही अगाडि बढाएको बताए । लकडाउनको बेला वन जंगलबाट अवैध चोरी निकासी गरिने काठ बर्दिवास, गौशाला, औरही , रामगोपालपुर, समसी, भंगहासहितको ठाउँका मिलहरुमा लुकाएर राख्ने गरिएका छन् ।

वन जंगलमा भइरहेको काठ चोरी निकासीमा ध्यान दिइएपनि त्यस क्षेत्रमा भइरहेको अन्य गतिविधिमा ध्यान नदिंदा दक्षिणवर्ती गाउँदेहातमा जंगली जनावरले आंतक मचाएको आरोप डिभिजन वन कार्यालयमाथि लाग्ने गरेको छ ।

सुरक्षाकर्मी शहरी वासिन्दालाई घरभित्र रोक्न मेहनत गरिरहेपनि गाउँदेहातमा पसेको जंगली बँदेल र निलगाइ धपाउन कतैबाट सहयोग नपाएको आरोप मनरा, सुरियाहीसहितका बासिन्दाको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ