लकडाउनमा मन्दिर जान नपाएकाहरु बेलनाको पूजा गर्दै

समाचार

4/12/2020

जलेश्वर, १ बैशाख । कोभिड१९ को कारण नेपाल लकडाउन भएको तीन हप्ता पुग्न लागेको छ । प्रदेश २ का जानकी मन्दिर, जलेश्वर महादेवसहितका मठमन्दिरहरु होली पर्वबाट नै सुनसान छ । अहिले मठमन्दिरको पूजापाठ पुजारीबाहेक अरुको पहुँचभन्दा बाहिर छ ।

यस क्षेत्रमा लकडाउन शुरु भएसँगै कोरोनाबाट सुरक्षित हुन नयाँ नयाँ अभ्यासहरु सुरु गर्न थालिएको छ । अहिले रोटी बनाउन प्रयोग गर्ने काठको चकलामा काठकै बेलना ठड्याएर घरघरमा पूजा हुन थालेको छ ।

यसरी पूजा गर्दा कोरोना भाइरसबाट जोगिने विश्वास यस क्षेत्रका बासिन्दामा रहेको जलेश्वर महादेव मन्दिर नजिक घर भएका दिलीप चौधरीले बताए ।

चकलामा बेलना राखेर चारैतिर चामल अथवा आटाको घेरा राखेर ठाडो पारेर पूजा गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । यो पूजा एकदेखि दुईदिनसम्म रह्ने गर्छ ।

चकलामा बेलना ठड्याएर कसैले महारानी त कसैले महादेव भनेर पूजा गर्ने गरेका हुन् । तीनहप्तादेखि मन्दिरमा जान नपाएपछि घरमै पूजा गर्ने र कोरोना१९ को डरबाट केही क्षण मुक्त हुने माध्यम यो अफवाह बनेको योगसाधक नवल यादवले बताए ।

यो बिज्ञान आधारित रहेपनि यस क्षेत्रका बासिन्दाले भगवान भन्दै पूजापाठ गर्ने विषय भने नौलो छ । मटिहानी मठमा उत्तराधिकारी महंथ रबिन्द्र दास बैष्णवसँग यस विषयबारे बुझ्न खोज्दा कुनै प्रतिक्रिया आउन सकेको छैन ।

स्थानीयका अनुसार यो पूजापाठको कुरा लहान हुँदै जलेश्वर आइपुगेको हो । महोत्तरी जिल्लाकै अन्य ठाउँहरुमा यस्तो किसिमको चमत्कार वा पूजापाठको कुनै चर्चा नरहेको गौशलाका संचारकर्मी धनविर महतोले बताए ।

केही दिन अगाडि यस क्षेत्रका मानिसहरुले कपुर, ल्वाङ्ग, इलाइची, हिंगसहितको सामग्रीको पोको बनाइ घाँटीमा अथवा हातमा बाँधेका थिए ।

लकडाउनको बेला कोरोना भाइरसबाट जोगिन अफवाहका कारण नयाँ नयाँ अभ्यास भइरहेका छन् । नेपालमा झण्डै चारहजार पाँचसय परिक्षण हुँदा १२ जनामा कोभिड१९को संक्रमण देखिएकोमा एकजना निरोग भइसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ