लकडाउनले भारतमै अड्कियो नेपालको रेल

समाचार

4/23/2020

काठमाडौं, ११ बैशाख । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ । रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमतिअनुसार रेल चेन्नाइस्थित उद्योगबाट गुडेको थियो । उनले भने, ‘लकडाउनका कारण जबलपुरबाट रेल अघि बढ्न सकेको छैन ।

रेलको यथास्थितिको बारेमा उद्योगका अधिकारीसँग फोनमा सम्पर्क भइरहेको छ । लकडाउन खुलेपछि नेपालका लागि हिडाइनेछ ।’ लकडाउन खुले पनि रेल नेपाल भित्रिनका लागि थप १० देखि १५ दिन लाग्नेछ ।

नेपाल भित्रिने रेलका लागि डेडिकेटेड लाइन उपलब्ध हुने हो भने २ देखि ३ दिन भित्रमा आइपुग्छ । तर, भारतीय रेल गुड्ने समयमा नेपालको रेलले ट्रयाक ओगट्न पाउँदैन । ट्रयाक खाली भएको समयमा गुडाउनु पर्ने भएकाले रेल भित्रिन केही समय लाग्ने देखिएको छ ।

सरकारले कुर्था–जनकपुर–जयनगर ३४ किलोमिटर खण्डमा रेल सञ्चालन गर्न २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्घान्तिक सहमति प्रदान गरेको थियो ।

२०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतावासबीच रेल खरिद सम्झौता भएको थियो । नेपालले सम्झौताअनुरूप २० प्रतिशत रकम दिएको छ । रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ