लकडाउनले भारतमा रोकिएका नेपाली मजदुर घर फर्किए

समाचार

5/2/2020

कैलाली, २० बैशाख । कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् ।
भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि स्वेदश फर्किए ।

रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

चौतीस दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ ।

सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए । नेपाल भित्रिएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ ।

धार्चुलाका विभिन्न क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुलालगायत अन्य जिल्लाका नागरिक खलङ्गा नाकाबाट नेपाल भित्र्याएको हो ।

नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २९० नेपाली स्वेदश फर्किएका छन् ।

उद्धारपछि नेपालको मात्र होइन, भारतीय प्रशासनसमेत खुशी छ । भारत धार्चुलाका एसडीएम अनिल शुक्लाले एक महिनासम्म नेपालीको स्वास्थ्य जाँच गरी सुरक्षित राखिएको बताए । एसडीएम शुक्लाले भने , “सबै नेपाली स्वस्थ्य छ, चिन्ता मान्नुपर्ने अवस्था छैन ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ