लागूऔषध बनाउने सहायक रसायन ईफेड्रिन सहित चिनियाँ पक्राउ

समाचार

12/8/2019

काठमाडौं, २३ मंसिर । लागूऔषध बनाउने सहायक रसायन ईफेड्रिन ४ किलो २ सय ग्रामसहित राहदानी नम्बर ई ७३९०५८३७ वाहक ३१ वर्षीय चिनियाँ नागरिक झाङ चाओलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ स्थित एक कार्गो मार्फत न्युजिल्याण्ड लैजानका लागि कागजको डिब्बाभित्र रहेको १० वटा काठको फ्रेममा फल्स बटम बनाई लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उक्त लागूऔषध बनाउने सहायक रसायन बरामद गरेको हो ।

उक्त रसायन लागूऔषध एम्फेटामाईन बनाउन प्रयोग गरिने र चाओले उक्त ईफेड्रिन चीनमा नेपाली मुल्य अन्दाजी २ लाख २५ हजार रुपैयाँ बराबरमा खरिद गरेको र न्युजिल्याण्ड पठाउँदा उक्त ईफेड्रिनको मुल्य करिब ५० लाख रुपैयाँ बराबरको हुन आउने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

निज चिनियाँ नागरीक चाओ उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ