जनकपुरधाम, २३ चैत । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न सुझाव सहितको प्रतिवेदन बुझाए लगतै बसेको उच्च स्तरीय समितिको बैठकले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरहेको मुख्यमन्त्री राउतले बताएका छन् ।
विज्ञ समूहले महामारी नियन्त्रणका लागि चिकित्सकीय सामग्रीको प्रयोग, चिकित्सकहरुको व्यक्तिगत सुरक्षा तथा प्रोत्साहन भत्ता, क्वारेन्टाइन, आइसोलेशनको मापदण्ड, कोरोना विशेष अस्पतालको निर्माण, आपूर्ति व्यवस्थामा समन्वय सहितलाई समेटेर सुझाव बुझाएको छ ।
यसका साथै समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले महामारी नियन्त्रण सम्बन्धमा यस अघि गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीहरु संग जवाव समेत मागेका थिए ।
प्रदेश सरकारले यस अघि प्रदेश भरिमा ५० वटा भेन्टीलेटर, २ वटा पिसिआर, ८ वटा एम्बुलेन्स र शव बाहन खरिद गर्ने निर्णय गरेको थियो ।
उच्चस्तरीय बैठकमा मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रमुख सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया