नेपालको विद्युत किन्न भारतलाई आग्रह

समाचार

3/12/2020

काठमाडौ, २९ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले भारतलाई नेपालको विद्युत खरिद गर्न आग्रह गरेका छन् ।

यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न मन्त्री पुनले आग्रह गरेका हुन् । काठमाडौंमा भारतीय ऊर्जा मन्त्रालयका सचिव संजीव नन्दन (एसएन) सहायसँग भेटमा मन्त्री पुनले भने, ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौं । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’

नेपाल विद्युत प्राधिकरण र भारतीय केन्द्रीय विद्युत प्राधिकरण (सीइए) बीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

तर, उक्त सम्झौता अनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत प्राधिकरणलाई विद्युत व्यापारको सहमति दिन ढिलाइ भएका कारण उक्त काम सुरु हुन सकेको छैन । मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गरे । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाए ।

मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि दुई देशबीच पटकपटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्र्ट सक्नुपर्नेमा जोड दिए ।

जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गरे । अरुण तेश्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ