जलेश्वर, २ साउन । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कोभिड१९को कारणले बैदेशिक रोजगारबाट तत्कालै फर्किन लागेका पाँच लाख युवाको रोजगारी व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् ।
जलेश्वरमा बैंक तथा बित्तिय संस्थाहरुलाई साना किसानको कृषि ऋणमा ब्याज अनुदानको चेक हस्तान्तरण कार्यक्रममा मन्त्री साहले युवा श्रमिकहरुको व्यवस्थापनका लागि ठुला उद्योगहरु खुल्ने सम्भावना प्रदेशभित्र नरहेकोले कृषि व्यवसायलाई प्रभावकारी बनाउन लागिएको जिकिर गरे । उनले हुलाकी राजमार्ग केन्द्रित कृषि गतिविधि तथा व्यापार व्यवस्थापनमा जोडदिने बताए ।
भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले आयोजना गरेको कार्यक्रममा मन्त्री साहले ब्याज अनुदानमा छनौट भएका ६ हजार २ सय २९ मध्ये ५ हजार २ सय ८० किसानलाई ६४ वटा बैंक तथा बित्तिय संस्थामार्फत चैतदेखि असारको ब्याज अनुदानका लागि २ करोड ५१ लाख ४ हजार ४४ रुपैया ६२ पैसाको चेक हस्तान्तरण समेत गरे ।
ब्याज अनुदानका लागि १३ हजार २ सय २९ किसानले आवेदन गरेका थिए । मन्त्री साहले ब्याज अनुदानको कार्यक्रम यस बर्षमा समेत राखिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया