काठमाडौं, २१ जेठ । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले विदेशबाट फर्काइने नागरिकलाई राख्न तयार गरिएका होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ संग समन्वय गर्ने समेत जिम्मेवारीमा रहेका नेम्बाङले प्रदेश १ र प्रदेश २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् ।
कोरोना संक्रमण व्यवस्थापन जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको होल्डिङ सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनिकरण गर्न सकिने बताएका थिए ।
जिल्ला समन्वय समिति भक्तपुर र नेपाली सेनाले प्रदेश १ का लागि सूर्य्विनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट् र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेका छन् । दुवै होल्डिङ सेन्टर एक⁄एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
सरकारले विदेशबाट फर्किनै पर्ने अवस्थामा रहेका नेपलाी नागरिकलाई ती सेन्टरमा राखेर आवश्यक प्रक्रिया पु¥याई क्वारेन्टिन पठाउने तयारी गरेको छ ।
विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ सेन्टरमा लगिने छ । त्यहाँ उनीहरुको पालिकाअनुसार विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ ।
तपाईको प्रतिक्रिया