मिथिलाञ्चलमा विधिवत् होली सुरु

समाचार

3/1/2020

जनकपुरधाम, १९ फागुन । मिथिलाञ्चलमा आजदेखि नै विधिवत् होलीको सुरुवात भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङ अबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको सुरुवात गर्ने परम्परा छ ।

हिजो कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रूपमा होली सुरु भएको मानिन्छ ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिनको बासस्थान कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौं साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेको हो ।

भगवान् तथा साधुसन्त र महात्माले होली पर्वको सुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबीरको प्रयोग सुरु भएको छ ।

यसैगरी होलीको आगमनसँगै प्रत्येक वर्षझैं यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र ब्यङ्गात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ