वीरगन्ज, ११ साउन । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले मुलुकको मुख्य नाका वीरगन्जमा नेपालको राष्ट्रिय झन्डासहितको ‘फ्ल्याग टावर’ निर्माण गराएका छन् ।
एक सय दस फिट उचाई भएको टावरमा ३० फिट लामो राष्ट्रिय झन्डा ठड्याइएको छ । संसदीय विकास कोषबाट उनले उक्त टावर निर्माण गराएका हुन ।
वीरगञ्जको शंकराचार्यद्वार अगाडि १३ लाख ६२ हजार रुपैयाँमा निर्माण गरिएको झन्डासहितको टावर सांसद यादवले उद्घाटन गरे ।
संसदीय पूर्वाधार विकास कोषबाट १० लाख र बाँकी अपुग रकम आफ्नो तलब भत्ताको रकमबाट फ्ल्याग टावर निर्माण गरिएको सांसद यादवले जनाए ।
मुलुकको मुख्य प्रवेशद्वारमा राष्ट्रको गौरव र सम्पूर्ण नेपालीको पहिचान झल्कने राष्ट्रिय झन्डा स्थापना गरेर गर्वको अनुभूति भएको उनले बताए ।
उनका अनुसार खुला सीमाका कारण वीरगन्ज र रक्सौललाई छुट्याउन नसक्ने भएकाले नेपाल प्रवेश गर्ने भारतीय र अन्य विदेशीलाई आफू नेपालमा प्रवेश गरेको अनुभूति यो राष्ट्रिय झन्डाले दिने छ ।
तपाईको प्रतिक्रिया