जनकपुरधाम, १ बैशाख । वीरगञ्जमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार जडान हुने भएको छ । उक्त मेसिन यसै साता राजविराजमामा पनि जडान गरिनेछ ।
कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।
‘जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको छ’ मुख्यमन्त्री राउतले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन् ‘वीरगञ्जमा समेत भोलिदेखी ल्याब सञ्चालनमा आईसक्ने जानकारी गराउँदछु ।’
कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने पनि उनले बताए ।
मुख्यमन्त्री राउतले प्रदेशमा तीन जना भन्दा बढीमा कोरोना संक्रमण नदेखियोस् भन्ने कामना गरेका छन् । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिनु प्रदेशको लागि ठूलो चिन्ताको विषय बनेको मुख्यमन्त्री राउतले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया