काठमाडौं, २ जेठ । नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि पुनः ताकेता गरेको छ । दूतावासका नियोग उपप्रमुख भारतकुमार रेग्मीले नेपाल हेर्ने डेस्क प्रमुख पीयूष श्रीवास्तवसँग वार्ताको तिथिका लागि पहल गरिरहेका छन् ।
दूतावास अधिकारीहरूका अनुसार रेग्मीले लगातार श्रीवास्तवमार्फत वार्ताको तिथिमा पहल गरेका छन् भने राजदूत नीलाम्बर आचार्यले पनि आफ्ना फरक–फरक संयन्त्रमार्फत प्रयास गरिरहेका छन् ।
आचार्य र उत्तराखण्डका पूर्व मुख्यमन्त्रीसमेत रहिसकेका महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीसँग पनि उनले छलफल गरेका थिए । प्रबुद्ध व्यक्ति समूहमा दुई वर्ष सँगै काम गरेका उनीहरूबीच लामो छलफल भएको थियो । छलफलमा पनि वार्तामै जोड दिइएको र उक्त छलफललगत्तै राजदूतले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका थिए ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबारे नेपालले भारतसँग वार्ताको मितिका लागि पहल गरिरहेको हो । दिल्लीस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा तिथिका लागि फलोअप गरेको दूतावास अधिकारीले बताए ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि लैनचौरस्थित भारतीय दूतावासमा तिथिबारे छलफल गरेका थिए । नेपाल–भारतबीचको सुमधुर र ऐतिहासिक सम्बन्धलाई उचाइमा लैजान तत्काल परराष्ट्र सचिवस्तरीय वार्ता अगाडि बढाउन नेपालले चाहेको धारणा भारतलाई अवगत गराइएको छ ।
तपाईको प्रतिक्रिया