शम्भु सदालाई यातना दिने क्रममा मृत्यु भएको र त्यसपछि शौचालयमा झुण्ड्याइयो : प्रतिवेदन

समाचार

6/17/2020

जनकपुरधाम, ३ असार । प्रहरी हिरासतमा रहेका सबैलाका शम्भु सदालाई प्रहरीले यातना दिई हत्या गरेको र त्यसपछि शौचालयमा झुण्ड्याइएको एक प्रतिवेदनले दाबी गरेको छ ।

पत्रकार एवं कानूनका विद्यार्थी बीपी साहको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा यस्तो दाबी गरिएको छ ।

प्रतिवेदनमा पैसा नदिएकै कारण यातनापछि हत्या भएको उल्लेख छ । इलाका प्रहरी कार्यालय सबैलाका अधिकारीहरुलाई घुस दिन नसक्दा शम्भू सदाको हत्या भएको एक प्रतिवेदनले देखाएको छ ।

शम्भू सदाले चलाएको ट्रयाक्टर दुर्घटना भएपछि एक जना महिलाको मृत्यु भएको थियो भने एक जना बालिका घाइते भएकी थिइन् ।

उक्त प्रकरणमा ट्रयाक्टरमा बसेका लेबरहरुले ट्रयाक्टर चलाएको स्वीकार गराउन प्रहरीले शम्भू सदालाई यातना दिएको समाचार साहको सम्पादकत्वमा रहेको हुलाकी न्यूजले समाचार प्रकाशित गरेको छ ।

साहका अनुसार सोही विषयमा प्रहरीले शम्भू सदाको परिवारसँग अनुचित रकम (घुस) माग्न थालेका थिए । र, सदालाई प्रहरी हिरासतभित्रै यातना दिइदै आएका थिए ।

ट्रयाक्टर दुर्घटनाको विषय मिलेकै दिन प्रहरीले अनुचित रकमको माग गर्दै शम्भूलाई प्रहरी हिरासतबाट आमा सियाली देवी सदालाई फोन गर्न लगाएका थिए ।

सोही राति घुसको माग गर्दै शम्भू सदालाई यातना दिने क्रममा मृत्यु भएको र त्यसपछि शौचालयमा झुण्डियाइएको प्रतिवेदनमा जनाइएको छ ।

उक्त स्वतन्त्र छानविन समितिमा राजकिशोर रजक (अम्बेडकरी तथा बहुजन अध्ययता), पचु माझी मुसहर (दलित अभियानकर्ता), रामदयाल सदा (स्थानीय शिक्षक) र मोहन सदा (दलित अभियानकर्ता) रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ