काठमाडौं, २८ फागुन । नइ प्रकाशनले भारत काशीका प्रथम नेपाली कथानक चलचित्र आमाको पटकथा र सम्वाद लेखेका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाखसहित नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने भएको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।
वि. सं १९९३ देखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट उदय मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्राडा. ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए ।
काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसादबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ । श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र आमाको पटकथा र सम्वाद लेखेका थिए । हिरासिंह खत्रीद्वारा निर्देशित आमाको उनी सहायक निर्देशक पनि थिए ।
तपाईको प्रतिक्रिया