जनकपुरधाम, १६ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीइले संघीयता कार्यान्वयनका लागि संघ सरकारबाट इमान्दार प्रयास हुन नसकेको आरोप लगाएका छन् ।
मानव अधिकार पत्रकार संघले शुक्रबार जनकपुरमा आयोजना गरेको संघीयता कार्यान्वयनमा सरोकारबलाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्वयनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष रहेको प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेलहरु भइरहेको उल्लेख गर्दै भने, ‘ शुरुमा कामै नलाग्ने कर्मचारीहरु पठाइयो, बजेटको बाँडफाँड पनि अन्याय पूर्ण भयो । कसरी संघीयता कार्यान्वयन हुन्छ ?’
उनले केन्द्रिकृत एकात्मक सोच बोक्नेहरु संघीयतालाई कमजोर गर्ने जति प्रयास गरे पनि अबको पाँच वर्षमा मुलुक कोल्टो फेर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘गाउँ–गाँउमा विकासको आभास भइरहेको छ, जनताको घर–घरमा प्रदेश सरकारको अनुभूति गराउने काम भइरहेको छ ।’
मानव अधिकार पत्रकार संघको अध्यक्ष घनश्याम खडकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, प्रदेशसभा सदस्य, नागरिक समाज र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया