रौतहट, ९ चैत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटले महामारीको रूप लिएका कोभिड १९ को प्रकोप न्यूनीकरण गर्ने उद्देश्यले गौरमा अस्थायी हेल्प डेस्क स्थापना गरी मिडिकेटेड मास्क वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुझाव सहितको पम्पलेट वितरण गर्नुको साथै सैनिटाइजर प्रयोग गर्न लगाएको थियो ।
विश्वभरि फैलिँदै गएको भाइरसको संक्रमणबाट जोगिन सचेत हुनुको विकल्प नरहेकोले नेपाल रेडक्रस सोसाइटीले अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किनु, भीडभाडमा नजानु, बेला–बेलामा साबुन पानीले राम्ररी हात धुनु लगायतको सन्देश दिँदै रेडक्रसकर्मीले स्थानीयहरुलाई मास्क निःशुल्क वितरण गरेको जिल्ला सभापति संजीव कुमार मल्लिकले बताएका छन् ।
नेपाल सरकारले जनचेतना फैलाउनु पर्ने निर्देशन दिएकोले स्थानीय तह, कार्यालय, संघ सस्थाले भाइरसको संक्रमण रोक्नुपर्ने लक्ष्य लिएर प्रचार प्रसारमा लागि परेका छन् ।
सभापति मल्लिकले प्राणघातक रोगको संक्रमणबाट बाँच्नु पर्ने ठूलो चुनौती रहेकोले सबै नागरिकले सचेत हुनु पर्ने जोड दिए । स्थानीय तहले गाउँ–गाउँमा सरसफाई तर्फमा ध्यान दिनु पर्ने जरुरी रहेको छ ।
भाइरसले त्रसित भएको अवस्थामा कालोबजारी हुन सक्ने सम्भावना रहेकोले खाद्य सामग्रीको आपूर्ति, मूल्यको निगरानी, औषधि पसलको व्यवस्थापन, मास्कको सहज आपूर्ति, बजार अनुगमन, शुद्ध माछामासुको बिक्री वितरण, होटल अनुगमन प्रति स्थानीय प्रसाशनले कडाईका साथ ध्यान दिनु पर्ने देखिएको छ ।
माक्सको चर्को मूल्यमा विक्री वितरण भैरहेको गुनासो स्थानीय आम नागरिकको रहेको हुँदा यस तर्फ ध्यान दिनुपर्ने जरुरी रहेको छ ।
सुरक्षाकर्मी परिचालन गरेर बाजार, बाटो, सार्वजनिक ठाउँ, बसपार्क, चौकहरुमा हुने भीडको नियन्त्रण गर्नु पर्ने देखिन्छन् ।
नेपाल र भारत विचको खुल्ला सिमाना रहेकोले सिमामा स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलाई आआफ्नो नाकामा निगरानी बढाउनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ ।
तपाईको प्रतिक्रिया