सूचना अधिकारी भर्चुअल अभिमुखीकरण सम्पन्न

समाचार

8/9/2020

नेपालगन्ज, २५ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा जिल्ला हुलाक कार्यालय बांके र सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र बांकेको समन्वयमा कोरोना भाइरस (कोभिड १९) को समस्याका बीच भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै जुममार्फत बांके जिल्लामा रहेका सार्वजनिक निकायहरुका सूचना अधिकारीहरुको क्षमता विकासका लागि आइतबार सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरावाङ्गले सुरु गरेको बाँके जिल्लाका नागरिकहरुलाई सुशासन तथा कानूनको शासनको प्रत्याभूति दिलाई जनतामा राज्य संयन्त्रप्रतिको आशा तथा भरोसा सिर्जना गराउने अभियानअन्तर्गत यो क्षमता विकास कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रमको मुख्य वक्ता तथा सहजकर्ता पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा रहेका थिए ।

विशेष वक्तामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा अन्य वक्ताहरुमा जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख गोबिन्द प्रसाद पाण्डे र सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजित तिवारी रहेका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रममा सबै सार्वजनिक निकायका सूचना अधिकारीहरुको काम, कर्तव्य तथा अधिकार, सूचना अधिकार कानून, नागरिक र सूचना अधिकारको सम्बन्ध, सूचना प्रवाह गर्ने तरिका, सुशासन र सूचनाको हक लगायतका विषयमा सूचना अधिकारीहरुलाई जानकारी दिइएको थियो । कार्यक्रममा बाँकेका ५० भन्दा बढी सार्वजनिक निकायका सूचना अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सूचना अधिकारीलाई यसरी क्षमता विकास गरेर आयोजकले निकै राम्रो काम गरेको कुरा कर्मचारी संचय कोष कार्यालय कोहलपुरका सूचना अधिकारी मनोज लामिछानेले बताए । कोरोना कहरका बीच सूचना प्रविधिको प्रयोग सूचना अधिकारीहरुको क्षमता विकासको कार्यक्रम नेपालमा पहिलो पटक गरिएको वाणिज्य कार्यालय नेपालगंजका सूचना अधिकारी देवीलाल चौलागाईले बताए ।

कार्यक्रममा पत्रकार शुक्रऋषि चौलागाईले सूचनाको हकका क्षेत्रमा कार्यरत निकायहरुले तथा पदाधिकारीहरुले थप सक्रियता बढाउनु पर्ने बताए ।

सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रमको संचालन तथा सहजीकरण सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका कार्यकरी निर्देशक राकेशकुमार मिश्रले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ